नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन
२०८२ भाद्र २७, शुक्रबार (२ महिना अघि)

काठमाडौं । नेपालले आफ्नो इतिहासमा पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीको शपथ ग्रहण गर्दै ऐतिहासिक पाना पल्टाएकी हुन् ।

जेन–जी आन्दोलनको बलबुतामा सत्ता नेतृत्वमा पुगेकी कार्कीले शपथसँगै मुलुकलाई नयाँ जनादेश दिलाउने बाटो पनि खोलेकी छन्। उनले पदभार ग्रहण गरेको पहिलो दिनमै मन्त्रिपरिषद्को बैठक बसेर आधा पदावधि बाँकी रहेको प्रतिनिधिसभा विघटनको सिफारिस गरिन् । यसरी सरकार गठन भएलगत्तै संसद् विघटनको निर्णय हुनु नेपाली राजनीतिको दुर्लभ क्षणका रूपमा अंकित भएको छ।

राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने क्रममा आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी स्पष्ट पारेका छन् । यसअनुसार, नवगठित सरकारले आउँदो फागुन महिनाभित्र निर्वाचन सम्पन्न गरी जनताबाट नयाँ जनादेश लिनेछ।

यस ऐतिहासिक शपथसँगै सुशीला कार्की केवल नेपालको पहिलो महिला प्रधानमन्त्री मात्र बनेकी छैनन्, उनले लोकतन्त्रलाई नयाँ दिशातर्फ डोर्याउने निर्णायक यात्राको सुरुवात पनि गरेकी छन्।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस