जलवायु परिवर्तनको असर : जापान र दक्षिण कोरियामा इतिहासकै तातो गर्मी

जलवायु परिवर्तनको असर : जापान र दक्षिण कोरियामा इतिहासकै तातो गर्मी
२०८२ भाद्र १८, बुधबार (२ महिना अघि)

एजेन्सी । यस वर्ष जापान र दक्षिण कोरियाले इतिहासकै सबैभन्दा तातो गर्मीयाम अनुभव गरेका छन्। लगातार बढ्दो तापक्रमले दुवै मुलुकमा नयाँ रेकर्ड कायम गरेको मौसमविद्हरूले बताएका छन्।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार, यस वर्ष जापानको औसत तापक्रम अघिल्ला ३० वर्षको औसत भन्दा २.३६ डिग्री सेल्सियसले बढेको छ । १८९८ देखि तथ्यांक संकलन सुरु भएयता यो अहिलेसम्मकै सबैभन्दा तातो गर्मी भएको जनाइएको छ। देशभरका १ सय ५३ मौसम स्टेसनमध्ये १ सय २३ वटामा गर्मीयामको तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ।

गत महिना मात्र, मध्य जापानको इसेसाकी शहरमा तापक्रम ४१.८ डिग्री सेल्सियस पुगेपछि देशले एउटै दिनमा दुई पटक सबैभन्दा तातो दिनको रेकर्ड तोडेको थियो। एजेन्सीले आगामी दुई सातासम्म विशेषगरी पूर्वी र पश्चिमी क्षेत्रमा गर्मी अझै चर्कने चेतावनी दिंदै नागरिकलाई सचेत रहन आग्रह गरेको छ।

दक्षिण कोरियामा पनि यस गर्मीयामको औसत तापक्रम २५.७ डिग्री सेल्सियस पुगेको छ, जुन १९७३ मा तथ्यांक संकलन सुरु भएयता अहिलेसम्मकै उच्च हो । अघिल्लो वर्ष कोरियाको औसत तापक्रम २५.६ डिग्री सेल्सियस रहेको थियो।

पूर्वी एशियाका यी मुलुकहरूमा देखिएको तापक्रम वृद्धि वैज्ञानिकहरूले चेतावनी दिँदै आएको जलवायु परिवर्तनसँग जोडिएको मानिएको छ। विश्व मौसम संगठन (WMO) ले एशिया विश्वकै अन्य क्षेत्रभन्दा झन्डै दोब्बर गतिमा तातिरहेको जनाएको छ।

गत वर्ष मात्र एशियाली भूभागको तापक्रम औसतभन्दा १ डिग्री सेल्सियस बढी नापिएको थियो। यस आधारमा, सन् २०२४ एशियाको इतिहासमै सबैभन्दा तातो वा दोस्रो तातो वर्ष बनेको अन्तर्राष्ट्रिय निकायले जनाएको छ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस