पृथ्वीको ऊर्जा असन्तुलन तीव्र: ‘जेट्टा-जुल’ले देखायो खतराको संकेत

पृथ्वीको ऊर्जा असन्तुलन तीव्र: ‘जेट्टा-जुल’ले देखायो खतराको संकेत
२०८२ चैत्र ११, बुधबार (४७ मिनेट अघि)

काठमाडौं । जलवायु परिवर्तनको प्रभाव बुझ्न प्रयोग हुने “जेट्टा-जुल” (Zettajoule) नामक ऊर्जा एकाइ हाल विश्वभर चर्चा सँगसँगै चिन्ताको विषय बनेको छ । वैज्ञानिकहरूका अनुसार पृथ्वीको ऊर्जा असन्तुलन तीव्र रूपमा बढ्दै गएको छ, जसले महासागर, जमिन र वायुमण्डललाई डरलाग्दाे रूपमा तातो बनाइरहेको छ ।

जेट्टा-जुल भनेको एक अर्ब ट्रिलियन जुल बराबरको अत्यन्त ठूलो ऊर्जा मापन एकाइ हो । यसको परिमाण यति विशाल हुन्छ कि वैज्ञानिकहरूले पनि यसलाई “अकल्पनीय” स्तरको ऊर्जा भनेर वर्णन गर्ने गरेका छन् ।

विश्व मौसम संगठन (WMO) को पछिल्लो प्रतिवेदनअनुसार सन् २००५ देखि २०२५ सम्म पृथ्वीको ऊर्जा असन्तुलन वार्षिक करिब ११ जेट्टा-जुलले बढेको छ, जुन मानवजातिको कुल वार्षिक ऊर्जा प्रयोगभन्दा करिब १८ गुणा बढी हो ।

यस अतिरिक्त ऊर्जा मुख्यतः हरितगृह ग्यासका कारण वायुमण्डलमा थुनिएर बसेको छ । फलस्वरूप, पृथ्वीमा प्रवेश गरेको ताप बाहिर निस्कन नसकी महासागर, जमिन र हावामा संचित हुँदै गएको छ । यसले तापलहर, खडेरी, बाढी, आँधी तथा डढेलो जस्ता चरम मौसमीय घटनाहरूलाई थप तीव्र बनाइरहेको वैज्ञानिकहरूको भनाइ छ ।

विशेषगरी महासागरले करिब ९० प्रतिशतभन्दा बढी अतिरिक्त ताप सोस्ने भएकाले सन् २०२५ मा मात्रै महासागरले २३ जेट्टा-जुल ऊर्जा अवशोषण गरेको रेकर्ड गरिएको छ । यो अघिल्ला दुई दशकको औसतभन्दा दोब्बर हो ।

यसलाई बुझाउन वैज्ञानिकहरूले विभिन्न तुलना गरेका छन् । सन् २०२५ मा महासागरमा थपिएको ताप ऊर्जा प्रति सेकेन्ड करिब ११ वटा हिरोशिमा परमाणु बम विस्फोटकाे बराबर रहेको अनुमान गरिएको छ ।

वैज्ञानिकहरूका अनुसार यो अवस्था मानव क्रियाकलाप, विशेषगरी जीवाश्म इन्धनको प्रयोग र वन विनाशका कारण सिर्जित भएको हो । ऊर्जा संरक्षणको सिद्धान्तअनुसार ऊर्जा न त सिर्जना गर्न सकिन्छ न त नष्ट, तर रूपान्तरण मात्र हुन्छ । अहिले यही ऊर्जा पृथ्वीमै थुप्रिँदै जानु नै जलवायु संकटको मूल कारण बनेको बताइएको छ ।

यस ऊर्जा असन्तुलनलाई तत्काल नियन्त्रण नगरेमा पृथ्वीको तापक्रम थप बढ्दै जाने र यसको दीर्घकालीन असर मानव जीवन, खाद्य सुरक्षा र पारिस्थितिक प्रणालीमा गम्भीर पर्ने विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

अन्तिम अध्यावधिक: March 25, 2026

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English

    ताजा अपडेट

    खोजी गर्नुहोस