सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारी

सामरी खोलामा मापदण्ड विपरीत उत्खनन, अनुगमनपछि कारबाहीको तयारी
२०८२ चैत्र ९, सोमबार (२२ मिनेट अघि)

हेटौंडा । मकवानपुरगढी गाउँपालिका क्षेत्रअन्तर्गत पर्ने सामरी खोलामा तोकिएको मापदण्ड विपरीत ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन भइरहेको गुनासो बढेपछि सरोकारवाला निकायले संयुक्त रूपमा स्थलगत अनुगमन गरेका छन् ।

स्थानीयवासीले लामो समयदेखि एक्स्काभेटर प्रयोग गरी भइरहेको तीव्र उत्खननले खोलाको स्वरूप बिग्रँदै गएको, पानी धमिलो भएको तथा वातावरणीय असर देखिन थालेको भन्दै गुनासो गर्दै आएका थिए ।

सोही आधारमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान तथा सुरक्षा निकायका प्रमुखसहितको टोलीले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा खोलाको विभिन्न भाग निरीक्षण गर्दै भइरहेको उत्खनन, प्रयोग भएका उपकरण तथा मापदण्ड पालना अवस्थाबारे जानकारी लिइएको थियो । विशेषगरी गहिराइसम्बन्धी मापदण्ड उल्लङ्घन गम्भीर रूपमा देखिएको टोलीले जनाएको छ ।

प्रारम्भिक वातावरणीय परीक्षण आईई अनुसार अधिकतम एक मिटर गहिराइसम्म मात्र उत्खनन गर्न पाइने व्यवस्था भएपनि स्थलमै दुई मिटरभन्दा बढी गहिराइसम्म खनिएको भेटिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।

‘तोकिएको मापदण्डभन्दा बढी गहिराइमा उत्खनन भएको देखियो, यो गम्भीर विषय हो,’ उनले भने ।

त्यस्तै, निरन्तर एक्स्काभेटर प्रयोगका कारण खोलाको पानी धमिलो बनेको, जलचरमा असर परेको तथा किनार कटान र बाढीको जोखिम बढ्ने सम्भावना रहेको स्थानीयले बताएका छन् । तोकिएको परिमाणभन्दा बढी उत्खनन भइरहेको र नियमन कमजोर हुँदा स्रोतको जथाभाबी दोहन भइरहेको उनीहरूको गुनासो छ ।

गाउँपालिकाले वडा नम्बर ५ र ६ अन्तर्गत पर्ने सामरी खोलाबाट नदीजन्य पदार्थ सङ्कलनका लागि ठेक्का सम्झौता गरेको छ । हाल वडा नम्बर–६ को सोल्टीमोर क्षेत्रमा तीव्र उत्खनन भइरहेको छ । तर, ठेक्का सम्झौता तथा वातावरणीय मापदण्ड पूर्ण रूपमा कार्यान्वयन नभएको आरोप लाग्दै आएको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी अधिकारीले प्राविधिक नाप जाँचपछि मात्र वास्तविक उत्खननको परिमाण र मापदण्ड उल्लङ्घनको स्तर यकिन हुने बताए । ‘प्राविधिक टोलीले मापन गरेपछि मात्र स्पष्ट हुन्छ,’ उनले भने ।
अनुगमनबाट देखिएका प्रारम्भिक तथ्यका आधारमा आवश्यक कारबाही प्रक्रिया अघि बढाइने पनि उनले जनाए ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले मापदण्ड कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको बताउँदै अनुगमन प्रतिवेदनका आधारमा सुधारका कदम चालिने र ठेक्का लिने पक्षले सम्झौता उल्लङ्घन गरे कारबाही गरिने स्पष्ट पारे ।

उता, भिजन कन्ट्रक्शनले भने गाउँपालिकाको मापदण्डअनुसार नै उत्खनन गरिएको दाबी गरेको छ। कम्पनीका अनुसार गाउँपालिकाले करिब ९९ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न ठेक्का दिएको छ, जसबाट ३ करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन हुने लक्ष्य राखिएको छ । सो रकममध्ये ७० प्रतिशत अर्थात् २ करोड १९ लाख १० हजार रुपैयाँ अग्रिम रूपमा जम्मा गरिसकेको कम्पनीले जनाएको छ भने बाँकी रकम वैशाखमा बुझाइने बताइएको छ ।

सामरी खोलामा भइरहेको उत्खननले प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, वातावरण संरक्षण तथा स्थानीय तहको नियमन क्षमतामाथि प्रश्न उठाएको छ । अनुगमन टोलीले विस्तृत प्राविधिक प्रतिवेदन तयार पार्ने र सोही आधारमा थप निर्णय तथा कारबाही अघि बढाइने जनाएको छ ।

अन्तिम अध्यावधिक: March 23, 2026

लेखकको बारेमा

  • जलवायु

    जलवायु वातावरणीय तथा जलवायु परिवर्तनका विषयहरूमा समर्पित, मुनाफा वितरण नगर्ने नेपाली अनलाइन समाचार माध्यम हो।

  • सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    English

    ताजा अपडेट

    खोजी गर्नुहोस