जलवायु परिवर्तनको बढ्दो असर : तापक्रम वृद्धि र विषम मौसमीय घटनाको जोखिम बढ्दै

जलवायु परिवर्तनको बढ्दो असर : तापक्रम वृद्धि र विषम मौसमीय घटनाको जोखिम बढ्दै
२०८२ चैत्र ९, सोमबार (२६ मिनेट अघि)

पार्वती भण्डारी, काठमाडौं । हरेक वर्ष २३ मार्चमा विश्व मौसम दिवस मनाउने गरिन्छ । यसै अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमहरुगरी मौसम दिवस मनाइदैछ । विश्व मौसम संगठनसम्बन्धी महासन्धि कार्यान्वयनमा आएपछि सन् १९५० देखि विश्व मौसम दिवस मनाउन थालिएको हो ।

मौसम दिवसमा बढ्दो सहरीकरणका कारण वातावरण र मौसममा परेको प्रभाव तथा रोकथामका लागि विभिन्न चेतनामूलक कार्यक्रम हुँदै आएको छ । यसै सन्दर्भमा वरिष्ठ मौसमविद् विभूति पोखरेलसँग गरिएकाे कुराकानीमा उनले नेपालमा मौसम पूर्वानुमानको वर्तमान अवस्था, चुनौती र जलवायु परिवर्तनका असरबारे महत्वपूर्ण धारणा व्यक्त गरेकी छन् ।

उनका अनुसार नेपालमा वर्षभरको मौसम कस्तो हुन्छ भनेर एकैपटक पूर्वानुमान गर्ने अभ्यास नभए पनि सिजनल रूपमा जस्तै आगामी ६ महिना मनसुन कस्तो हुन्छ वा हिउँद कस्तो रहनेछ भन्ने पूर्वानुमान गर्ने गरिएको छ । समग्र वर्ष नै यस्तो हुन्छ भनेर निकाल्ने होइन, तर सिजन अनुसार हामी पूर्वानुमान गर्छौं उनले बताइन् ।

उनले पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम बढ्ने, विषम मौसमी घटना बढ्ने सम्भावना पनि क्रमश बढ्दै गएको उल्लेख गरिन् । मौसम पूर्वानुमान प्रक्रिया बारे स्पष्ट पार्दै उनले जल तथा मौसम विज्ञान विभाग अन्तर्गत देशका विभिन्न स्थानमा रहेका अवलोकन केन्द्रबाट सङ्कलित तथ्यांकको विश्लेषण गरेर पूर्वानुमान गरिने जानकारी दिइन् । ‘हामीले विभिन्न ठाउँबाट आएका डाटालाई केलाउँछौं । अहिले नयाँ प्रविधिहरू पनि आएका छन् । साथै स्याटेलाइटबाट प्राप्त तस्बिरहरूको विश्लेषण गरेर हामी मौसम पूर्वानुमान गर्छौं,’ उनले भनिन् ।

नेपालको भौगोलिक अवस्थाका कारण मौसम पूर्वानुमान चुनौतीपूर्ण हुने उनले बताइन् । तराई, पहाड र हिमाली क्षेत्रको विविध भूगोलका कारण एउटै स्थानको पूर्वानुमान सबै ठाउँमा लागू नहुने उनको भनाइ छ । हाम्रो भूगोल जटिल छ, त्यसैले पूर्वानुमान पनि त्यहीअनुसार चुनौतीपूर्ण हुन्छ, उनले स्पष्ट पारिन् ।

प्रविधिको हिसाबले विकसित राष्ट्रको तुलनामा नेपाल केही पछि भए पनि नेपाली प्राविधिकहरू सक्षम रहेको उनले उल्लेख गरिन् । विश्वव्यापी रूपमा मौसमसँग ‘सम्बन्धित प्रविधि साझा हुने भएकाले नेपालले पनि त्यसबाट लाभ लिइरहेको उनले बताइन् । यो जनधनसंग सम्बन्धित विषय भएकाले प्रविधि सेयर हुन्छ । तर नेपालमा भौगोलिक अवस्थाका कारण प्रविधि विस्तार गर्न धेरै खचै लाग्छ । स्रोत र जनशक्ति पनि पर्याप्त छैन,’ उनले भनिन् ।

जनतासम्म पूर्वानुमान पुर्याउने विषयमा विभागले विभिन्न माध्यम अपनाइरहेको उनले जानकारी दिइन् । सामाजिक सञ्जाल, एसएमएस, फोन कल लगायतका माध्यम प्रयोग भइरहेको र थप प्रभावकारी प्रणाली भित्र्याउने प्रयास जारी रहेको उनले बताइन् ।

हाल विभागले सतर्कता प्रणाली लागू गर्ने तयारी गरिरहेको र साथै आइभिआर प्रणाली पनि नेपालमा भित्र्याउने प्रयास भइरहेको उनले जानकारी दिइन् । तत्कालीन मौसम अवस्थाबारे बोल्दै उनले वर्षा हुनु सकारात्मक पक्ष भएको बताइन् । “वर्षा आफैंमा राम्रो हो, यसले बालीनाली र पानीका स्रोतलाई सहयोग गर्छ,” उनले भनिन् ।

तर वर्षासँगै असिना, हावा, हुरी, मेघगर्जन र चट्याङका कारण क्षति पनि हुने भएकाले यसलाई दुवै दृष्टिकोणबाट हेर्नुपर्ने उनको भनाइ छ । उनले कुनै पनि विषम मौसमी घटनाले बालीनाली मात्र नभई मानिसको दैनिक जीवनयापनमा समेत प्रभाव पार्ने भएकाले सचेत रहन आवश्यक रहेको बताइन् ।

अन्तिम अध्यावधिक: March 23, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस