बल्खु खोलामा ‘ट्र्यास बुम’ पुनःस्थापना

बल्खु खोलामा ‘ट्र्यास बुम’ पुनःस्थापना
२०८२ बैशाख ६, शनिबार (७ महिना अघि)

काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रमुख सहायक खोलामध्ये एक बाल्खु खोलामा ‘ट्र्यास बुम’ पुनःस्थापना गरिएको छ। प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन तथा नदी प्रदूषण न्यूनीकरणको उद्देश्यले ‘प्लिज’ परियोजना अन्तर्गत किर्तिपुर नगरपालिका वडा नं. १ मा ‘ट्र्यास बुम’ पुनःस्थापना गरिएको हो। उक्त कार्य एकीकृत शहरी विकास केन्द्र (सी.आइ.यू.डी.) को अगुवाइमा  किर्तिपुर नगरपालिकाको सहकार्यमा २०८२ साल बैशाख ४ गते सम्पन्न भएको हो ।

बल्खु खोला किर्तिपुर नगर हुँदै काठमाडौँ महानगरपालिका वडा नं. १४ बाट बग्दै बागमती नदीमा मिसिने एक महत्वपूर्ण जलस्रोत हो। खोलाको सतहमै बग्ने प्लाष्टिकजन्य फोहोरले वातावरणीय प्रदूषण निम्त्याइरहेका सन्दर्भमा, यो पहलले खोलाको स्वच्छता, जैविक विविधता संरक्षण, तथा जल स्रोतको पुनर्जीवनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

उक्त कार्यका लागि बाल्खु खोला क्षेत्रको जलप्रवाहको परीक्षण गरिनुका साथै ‘ट्र्यास बुम’ को तैरने क्षमता सुनिश्चित गरी मात्र स्थापना गरिएको हो । साथै, स्थापना गर्नु अघि खोलाको पानीको गुणस्तर परीक्षणसमेत गरिएको थियो।

यस कार्यमा क्लेन्ट अप्साइक्लर्स, निट क्लिन ग्रीन नेपाल, साथै बाल्खु खोला आसपासका महिला समूहहरू तथा समुदाय प्रतिनिधिहरूको उल्लेखनीय सहयोग रहेको थियो।

सी.आइ.यू.डी. का अनुसार, “यस प्रविधिबाट खोलाको सतहमा बग्ने प्लाष्टिकजन्य फोहोर सङ्कलन गरी त्यसको पुनःप्रयोग र व्यवस्थापन गरिनेछ। साथै, यो अभियानले स्थानीय तह र समुदायलाई फोहोर व्यवस्थापनप्रति अझ जिम्मेवार बनाउने अपेक्षा गरिएको छ।”

यो पहलले खोला तथा नदी क्षेत्रहरूको वातावरणीय सुधार मात्र होइन, समुदायमा प्लाष्टिकजन्य फोहोरको स्रोतमै न्यूनीकरण गर्ने व्यवहार विकासमा समेत दीर्घकालीन प्रभाव पार्नेछ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस