बँदेल र रातो बाँदर कृषि हानिकारक घोषणा, धपाउँदा मरे कार्वाही नहुने

बँदेल र रातो बाँदर कृषि हानिकारक घोषणा, धपाउँदा मरे कार्वाही नहुने
२०८१ माघ २९, मंगलबार (९ महिना अघि)

काठमाडौँ । सरकारले नेपाल राजपत्रमा सूचना उल्लेख गरी जंगली बँदेल र रातो बाँदरलाई लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । सरकारले २०८१ साल माघ १० गते राजपत्रमा सूचना प्रकाशन गरेको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० को नियम ३६ को अधिकार प्रयोग गरी वन तथा वातावरण मन्त्रालयले निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जंगली बँदेल र जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु बताउँदै सो वन्यजन्तु लखेट्न, पक्रन वा मार्नसमेत पाउने सूचनामा उल्लेख गरेको छ ।

पक्राउ गरिएको बँदेल वा जंगली रातो बाँदर सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष कार्यालय, डिभिजन वन कार्यालयमा बुझाइ वडा कार्यालयमा समेत जानकारी गराउनु पर्ने प्रावधान राखिएको छ ।

धपाउने क्रममा बँदेलको मृत्यु भएमा सम्बन्धित वडाका एक प्रतिनिधि सहित कम्तिमा ५ स्थानीयको रोहवरमा मुचुल्का उठाइ मातहतको कार्यालय र स्थानीय तहको वडा कार्यालयमा जानकारी गराउनु पर्ने पनि सूचनामा उल्लेख छ ।

नेपालमा मुख्य गरी रातो बाँदर, पहरे बाँदर र लङ्गुर गरी तीन प्रजातिका बाँदर छन्। रातो बाँदरको संख्या नेपालमा एक लाखभन्दा बढी रहेको बताइन्छ। सबैभन्दा धेरै दुःख दिने रातो बाँदर तराईदेखि हिमालको तलतिर गुराँस फूल्ने ठाउँसम्म पुगेको छ। चकचके, आक्रामक, जहाँ पनि जाने, जे पनि खाने रातो बाँदरले मान्छेलाई आक्रमणसमेत गर्छ। 

सानो बँदेल लोपन्मुख जनावर भएका कारण सूचनामा सानो बँदेलबाहेकका जंगली बँदेलको प्रावधान राखिएको छ ।      

 

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस