सुन्दर हिउँले ढाकिएको स्वरूपका लागि चिनिने प्रसिद्ध माछापुच्छ्रे हिमाल, यति बेला जलवायु परिवर्तनको डरलाग्दो प्रतीक बनेको छ। जाडोयामको चरम समयमै पनि माछापुच्छ्रे अँध्यारो र हिउँविहीन देखिन्छ। यस दृश्यमार्फत जलवायु परिवर्तनले पारेको प्रभावको व्यापकता प्रतिबिम्बित हुन्छ ।
विश्वको औसतभन्दा लगभग दोब्बर गतिमा बढिरहेको हिमालको तापक्रम यसको प्रमुख कारण बनेको छ। तातो जाडोयामका कारण हिउँको मात्रा कम भइ रहेको छ र भएको हिमनदी छिट्टै पग्लिएर माछापुच्छ्रेलाई उदाङ्गो बनाइरहेको छ। यति मात्र नभएर जलवायु परिवर्तनले परम्परागत मौसमी प्रणालीलाई विथोलिदिएको छ, जसका कारण जाडोयाममा लामो समयसम्म सुख्खा अवधि र अनियमित हिउँपातले स्थान बनाइरहेका छन् । जसले हिमालको हिउँको आवरणलाई थप कमजोर बनाएको छ।
अन्नपूर्ण क्षेत्रका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्। हिमनदीको पग्लनले न केवल हिमालको सुन्दरता घटाइरहेको छ, यसको गम्भीर परिणाम पनि हामी सामु उभ्याईदिएको छ। नाङ्गो चट्टानले बढी घाम सोस्ने गर्छ, जसले वरिपरिको तापक्रम बढाउँछ र हिउँको थप क्षय गराउँछ। उद्योग, वन कटान र जैविक ईन्धनबाट निस्कने कार्बनको कणले हिउँको थप क्षय गराउन उल्लेख्य भूमिका खेलेको छ। यी कणले हिउँमा बसेर यसको परावर्तन क्षमता घटाउँछन् र पग्लने प्रक्रिया तीव्र बनाउँछन्, जसले हिमाललाई थप अँध्यारो बनाइरहेको छ।
.jpg)
हिउँविहीन माछापुच्छ्रे निरर्थक जस्तै हुन जान्छ । कम हिउँ र बरफको कारण पानीका स्रोतहरूमा प्रत्यक्ष असर पर्छ, जसले कृषिका साथै जलविद्युत उत्पादन र खानेपानी आपूर्तिमा पनि समस्या ल्याउँछ। बदलिँदो हिमरेखा (स्नोलाइन) ले संवेदनशील उच्च हिमाली पारिस्थितिक तन्त्रमा असर पुर्याउँछ, जसले चिसो वातावरणमा निर्भर प्रजातिहरूलाई उच्च र अयोग्य क्षेत्रमा धकेल्छ। पर्यटन प्रमुख आर्थिक क्षेत्र हुने नेपाल जस्ता राष्ट्रहरुलाई माछापुच्छ्रेको प्रसिद्ध सौन्दर्य हराउनु दुर्भाग्य मात्र होइन ठुलो आर्थिक क्षति पनि हो। पवित्र मानिने माछापुच्छ्रेसँग जोडिएको सांस्कृतिक र आध्यात्मिक मूल्य हराउँदा स्थानीय समुदायहरूलाई पनि ठूलो धक्का लाग्न सक्छ।
%20(1).jpg)
विज्ञहरूले जलवायु परिवर्तनका असरहरू न्यूनीकरण गर्न तत्काल कदम चाल्नुपर्ने चेतावनी दिइरहेका छन्। हरितगृह ग्यास उत्सर्जन घटाउने, कालो कार्बन प्रदूषण नियन्त्रण गर्ने र वैज्ञानिक अनुसन्धानमा लगानी गर्ने कुराहरू अपरिहार्य रहेका छन्। हिमालय क्षेत्रका देशहरूले संयुक्त रूपमा यस क्षेत्रको पारिस्थितिक तन्त्रको संरक्षण र यस संकटबारे जनचेतना अभिवृद्धि गर्न पहल गर्नु जरुरी देखिन्छ।
माछापुच्छ्रेको हिउँले ढाकिएको अद्भुत स्वरूपबाट अँध्यारो र नाङ्गो अवस्थामा रूपान्तरण हुनु जलवायु परिवर्तनको भयानक वास्तविकता हो। तत्काल र निरन्तर प्रयास नगरे, यस किसिमका घटना सिंगो हिमालय क्षेत्रमा सामान्य बन्न सक्नेछ, जसले वातावरण र यसमा निर्भर लाखौं मानिसको जीविकामा पनि ठूलो खतरा पुर्याउने निश्चित छ।
%20(1).jpg)















