जलवायु परिवर्तनले कृषि क्षेत्रमा ठुलो असर, अन्तर्राष्ट्रिय समुदायलाई पनि दबाब दिनुपर्ने सुझाव

जलवायु परिवर्तनले कृषि क्षेत्रमा ठुलो असर, अन्तर्राष्ट्रिय समुदायलाई पनि दबाब दिनुपर्ने सुझाव
२०८१ पौष १, सोमबार (११ महिना अघि)

काठमाडौँ – जलवायु परिवर्तनले कृषिमा ठुलो असर गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभाग र पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अध्ययनबारे जानकारी गराइएको हो । 

नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको असर, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल नामक अनुसन्धान परियोजनाका प्रमुख प्रा.डा. प्रेमसागर चापागाईँले जलवायु परिवर्तनले नेपालको कृषि क्षेत्रमा ठुलो असर गरेको बताए । 

उनका अनुसार जलवायु परिवर्तनले आगामी दिनमा थप असर गर्ने अध्ययनले देखाएको छ । नेपालको मुख्यतः रसुवा, नुवाकोट, चितवन, तनहुँ र कास्की जिल्लाका २११ घरधुरीमा नमुनाको रूपमा गरिएको अध्ययनले गत ३० वर्ष यता तापक्रम उच्च वृद्धि भएको, वर्षाको मात्रा घटेको, आन्तरिक र बाह्य बसाइँ सर्नेक्रम बढेको र कृषि पशुपालनको दाँजोमा विप्रेषणको मात्रा बढ्दैगएको उनले बताए । 

यो अनुसन्धानमा समेटिएका क्षेत्रका किसानले मौसम र कृषिसम्बन्धी सूचनामाथि विश्वास नगरेको देखिएको पनि उनको भनाइ छ । अध्ययनका अनुसार तराईमा ३४ प्रतिशत घरपरिवार, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसमसम्बन्धी प्राप्त सूचनामा विश्वास गरेको देखिएको छ । 

अध्ययनले तराईमा औषत वार्षिक ०.००४२ डिग्री सेन्टिग्रेड, पहाडमा ०.९२१ डिग्री सेन्टिग्रेड र हिमालमा ०.०२५४ डिग्री सेन्टिग्रेडका दरले तापक्रम वृद्धि भइरहेको देखिएको पनि चापागाईँले जानकारी दिए । सोहीअनुसार वार्षिक रूपमा हिमाली क्षेत्रमा १३.१२ मिलिमिटर वर्षा, पहाडी क्षेत्रमा ९.३९ मिलिमिटर र तराईमा ५.०२ मिलिमिटर वर्षा घटेको देखिएको उनले जानकारी गराए । 

जलवायु परिवर्तनकै कारण खडेरी बढिरहेको, मनसुनको ढिलाइका कारण बालीमा असर पुगेको, बाली बिरुवा फूल फुल्ने र फल लाग्ने प्रक्रियामा असर परेको, उत्पादन घटेको अध्ययनले देखाएको छ । जलवायु परिवर्तनको असरका कारण किसानहरू कृषि कर्म छाडेर वैदेशिक रोजगारतर्फ आकर्षित हुँदैगएको समेत अध्ययनले देखाएको चापागाईँले जानकारी दिए । 

त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्रमुख प्रा.डा. उमेश मण्डलले जलवायु परिवर्तनको विषय गम्भीर भएकाले मिडियाले गम्भीरतापूर्वक उठाउनुपर्ने बताए । यसको असर कम गर्नमा अन्तर्राष्ट्रिय समुदायलाई पनि दबाब दिनुपर्ने उनको सुझाव छ ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस