नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल–भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०८२ फागुन १४, बिहिबार (४ घण्टा अघि)

काठमाडौं । नेपाल सरकार र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ।

नयाँ दिल्लीमा सम्पन्न उक्त समझदारीपत्रमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्री माधव प्रसाद चौलागाईं तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवको उपस्थितिमा हस्ताक्षर गरिएको हो। नेपालका लागि भारतीय राजदूत डा. शंकर प्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तनमय कुमारले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

वन तथा वातावरण मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार संयुक्त राष्ट्रसंघ अन्तर्गत जैविक विविधता संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिका पक्षकार रहेका नेपाल र भारतबीच सीमावर्ती संरक्षित क्षेत्र तथा जैविक मार्गमा रहेका वन्यजन्तुको संरक्षण, आवतजावत र व्यवस्थापनमा सहकार्य गर्ने उद्देश्यले समझदारी गरिएको हो ।

समझदारीपत्रले सीमावर्ती क्षेत्रमा वन्यजन्तुको चोरी, शिकार तथा अवैध व्यापार नियन्त्रण, साझा रणनीति कार्यान्वयन, अनुसन्धान, अध्ययन तथा कर्मचारीको क्षमता विकासमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, स्थानीय तहमा जनचेतना अभिवृद्धि र संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालनमा समेत सहकार्य गरिने उल्लेख गरिएको छ।

यसैगरी, वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रण तथा सूचनाको आदानप्रदानका लागि दक्षिण एशियाली वन्यजन्तु अपराध नियन्त्रण सञ्जाल सवेन मार्फत समेत समन्वय गरिनेछ।

समझदारी कार्यान्वयनका लागि नेपालतर्फ मन्त्रालय, वन तथा भू–संरक्षण विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, प्रदेश मन्त्रालय तथा डिभिजन वन कार्यालयले समन्वय गर्नेछन्।

उक्त समझदारीपत्र स्वतः पाँच वर्षसम्म कायम रहनेछ भने प्रत्येक तीन वर्षमा पुनरावलोकन गरिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

अन्तिम अध्यावधिक: February 26, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस