वन अधिकृतको घुस मुद्दामा बयान फेर्ने दुई साक्षी विरुद्ध मुद्दा दायर

वन अधिकृतको घुस मुद्दामा बयान फेर्ने दुई साक्षी विरुद्ध मुद्दा दायर
२०८२ पौष २४, बिहिबार (६ दिन अघि)

काठमाडौं । घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालत, काठमाडौंमा प्रतिकूल बकपत्र गरेको अभियोगमा दुई सरकारी साक्षीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।

विशेष अदालत, काठमाडौंमा बरिष्ठ वन अधिकृत पूर्ण शंकर यादव माथि दर्ता भएको घुस/रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेश गरिएका प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदले अदालतसमक्ष दिएको बकपत्रमा आयोगसमक्ष दिएको बयानभन्दा फरक तथा प्रतिकूल रहेको पुष्टि भएपछि उनीहरुविरुद्ध अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।

अनुसन्धानका क्रममा जिल्ला कैलाली, चुरे गाउँपालिका वडा नं. ६ निवासी प्रेम सिंह ठगुन्ना तथा गोदावरी नगरपालिका वडा नं. २ निवासी किसन सिंह साउद विशेष अदालतमा उपस्थित भई बकपत्र गर्दा अनुसन्धान अधिकृतसमक्ष दिएका बयान विपरीत तथ्य तथा व्यहोरा उल्लेख गरी प्रतिकूल बकपत्र गरेको प्रमाणित भएको अख्तियारको ठहर छ।

अख्तियारका अनुसार यी दुई जनाले बरिष्ठ वन अधिकृत पूर्ण शंकर यादवलाई नगद ७ लाख ३१ हजार घुस दिएको पुष्टि भइसकेको अवस्थामा मुद्दाको अनुसन्धान तथा सजायमा छुट सुविधा प्राप्त गरेपछि अदालतमा फरक तथा झुट्टा व्यहोरा लेखाई प्रतिकूल बकपत्र गरेको पाइएको हो। अनुसन्धानबाट प्रतिवादीहरूबीच गैरकानूनी स्वार्थ तथा लाभ लिने–दिने उद्देश्यले पछिबाट सम्बन्ध तथा सम्पर्क कायम रहेको समेत देखिएको अख्तियारको भनाइ छ।

यसरी अदालतलाई प्रभावित पार्ने उद्देश्यले प्रतिकूल बकपत्र गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर ठहर गर्दै अख्तियारले प्रेम सिंह ठगुन्ना र किसन सिंह साउदविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अख्तियारले दुवै प्रतिवादीबाट बिगो ७ लाख ३१ हजार कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद, बिगो बमोजिम जरिवाना तथा घुसको रकम जफत गर्न मागदाबी लिएको छ ।

अन्तिम अध्यावधिक: January 8, 2026
English

ताजा अपडेट

खोजी गर्नुहोस