काठमाडौँ । आज डिसेम्बर २१, उत्तरी गोलार्धमा यस वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात परेको छ । खगोलशास्त्रअनुसार यस अवस्थालाई शीत अयनान्त (विन्टर सोल्स्टिस) भनिन्छ ।
यस दिन सूर्य पृथ्वीबाट दक्षिणतर्फ सबैभन्दा टाढा देखिने स्थानमा पुग्ने भएकाले उत्तरी गोलार्धमा सूर्य उदाउने र अस्ताउनेबीचको समय सबैभन्दा छोटो हुन्छ । पृथ्वी आफ्नो धुरीबाट करिब २३.५ डिग्री झुकेको अवस्थामा सूर्यको वरिपरि घुम्ने हुँदा वर्षभरि दिन–रातको लम्बाइमा परिवर्तन हुँदै जान्छ। डिसेम्बर २१ मा सूर्यको झुकाव दक्षिणी गोलार्धतर्फ अत्यधिक हुने भएकाले उत्तरी गोलार्धमा घाम लाग्ने अवधि सबैभन्दा कम रहन्छ ।
यसै कारण नेपालसहित एशिया, युरोप, उत्तर अमेरिका लगायत उत्तरी गोलार्धका देशहरूमा आज दिन छोटो र रात लामो महसुस गरिएको छ। खगोलविद्हरूका अनुसार आजपछि दिनको अवधि बिस्तारै बढ्दै जाने र रात क्रमशः घट्दै जानेछ ।
शीत अयनान्तलाई विश्वका विभिन्न सभ्यताहरूले मौसमको मोडका रूपमा हेर्ने गरेका छन् । कतिपय संस्कृतिमा यसलाई नयाँ चक्रको सुरुआतको प्रतीक मानी विशेष सांस्कृतिक तथा परम्परागत गतिविधि गर्ने चलन पनि रहिआएको छ ।














