काठमाडौँमा जलवायु नीतिमा महिलाको अर्थपूर्ण सहभागिताको माग

काठमाडौँमा जलवायु नीतिमा महिलाको अर्थपूर्ण सहभागिताको माग
२०८२ पौष ५, शनिबार (१ महिना अघि)

काठमाडौँ । बागमती प्रदेशसभाका महिला सांसदहरूले जलवायु परिवर्तन र जैविक विविधता सम्बन्धी नीति तथा निर्णय प्रक्रियामा महिलाको समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले महिलालाई केवल कोटा पूरा गर्नका लागि मात्र समावेश गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै वास्तविक प्रतिनिधित्वको आवश्यकता औँल्याएका छन् ।

जलवायु परिवर्तन र जैविक विविधता संरक्षण विषयक प्रादेशिक महिला सांसदहरूका लागि आयोजित तालिम तथा संवाद कार्यक्रममा बोल्दै बागमती प्रदेशसभा सदस्य हरि प्रभा खड्गीले महिलाहरू प्रायः औपचारिक रूपमा मात्र समेटिने गरेको बताइन्। “महिलाको निर्णय प्रक्रियामा अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्छ,” उनले भनिन्। “जलवायु परिवर्तनको सबैभन्दा बढी असर महिलामाथि पर्ने भए पनि जलवायु र जैविक विविधतासम्बन्धी निर्णय प्रक्रियामा उनीहरूको सहभागिता अत्यन्त न्यून छ।”

महिला अधिकार तथा स्रोत सञ्जाल (Women Rights and Resource Network – WRRN) ले खाद्य तथा कृषि संगठन (FAO) को सहयोगमा २०२५ डिसेम्बर १९ मा काठमाडौँमा आयोजना गरेको उक्त कार्यक्रममा बागमती प्रदेशसभाका सदस्यहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा जलवायु विज्ञ सिन्धु ढुंगानाले जलवायु परिवर्तनको प्रभाव महिलामाथि र बालबालिकामाथि सबैभन्दा बढी पर्ने बताए । “हाम्रा नीतिहरू महिला र बालमैत्री हुनुपर्छ,” उनले भने, “तर यस्ता प्रतिबद्धताहरू व्यवहारमा लागू हुन नसक्ने अवस्था देखिन्छ।”

संवाद सत्रको सहजीकरण बागमती प्रदेशसभा सदस्य भारती पाठकले गरेकी थिइन्। कार्यक्रममा ग्रीन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डे, वन विज्ञ गङ्गाराम दाहाल, बिनिता कार्की तथा संस्थाकी अध्यक्ष आरती पाठकको समेत उपस्थिति रहेको थियो ।

अन्तिम अध्यावधिक: December 20, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस