नेपालकी पहिलो महिला नेचर गाइड डोमा पौडेललाई अन्तर्राष्ट्रिय ‘कन्जर्भेसनिस्ट अफ द इयर २०२५’ सम्मान

नेपालकी पहिलो महिला नेचर गाइड डोमा पौडेललाई अन्तर्राष्ट्रिय ‘कन्जर्भेसनिस्ट अफ द इयर २०२५’ सम्मान
२०८२ मंसिर २७, शनिबार (२ दिन अघि)

काठमाडौँ । नेपालका लागि वन्यजन्तु संरक्षण क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ । नेपालकी पहिलो प्रमाणित महिला नेचर गाइड डोमा पौडेलले प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘कन्जर्भेसनिस्ट अफ द इयर २०२५’ अवार्ड जितेकी छन्। ट्राभल अपरेटरस् फर टाइगर्स र स्यान्क्चुअरी नेचर फाउन्डेसनद्वारा प्रदान गरिने उक्त सम्मानले नेपालमा संरक्षण, समुदाय सशक्तीकरण र नैतिक पर्यटन प्रवर्द्धनमा उनले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेको हो।

नेपाल डाइनामिक इको टुर्स (एनडीईटी) तथा वाइल्डलाइफ भिक्टिम फन्डकी संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डोमा पौडेल वर्षौँदेखि संरक्षण क्षेत्रमा सक्रिय छिन्। नेपालकी पहिलो महिला नेचर गाइडका रूपमा उनले महिला नेतृत्वको नयाँ बाटोको उजागर गर्दै स्थानीय समुदाय, निकुञ्ज प्रशासन र अन्तर्राष्ट्रिय संरक्षण साझेदारबीच सहकार्यलाई मजबुत बनाउँदै आएकी छन्। उनी वाइल्डलाइफ भिक्टिम फन्डकी अध्यक्ष तथा समुदायआधारित एन्टी–पोचिङ युनिटकी पूर्व अध्यक्षसमेत हुन् ।

भारतजस्ता ठूला देशहरूको वर्चस्व रहने प्रतिस्पर्धामा नेपालजस्तो सानो देशबाट यो अन्तर्राष्ट्रिय उपाधि जित्नु विशेष उपलब्धि मानिएको छ । नेपालको भू–आकार र जनसंख्या तुलनात्मक रूपमा सानो भए पनि डोमाको सफलताले नेपालको संरक्षण प्रयास प्रभावकारी र विश्वस्तरमा प्रतिस्पर्धी रहेको सन्देश दिएको छ ।

डोमाको काम यसअघि पनि अन्तर्राष्ट्रिय रूपमा चर्चित भइसकेको छ। उनको संरक्षण यात्रालाई समेटिएको पीबीएसको डकुमेन्ट्री शृंखला “इन हर नेचर” विश्वव्यापी रूपमा प्रशंसित छ । यसै वर्ष उनलाई डब्लुडब्लुएफ नेपाल तथा बोब एण्ड याङ जेभियर एकेडेमीले प्रदान गर्ने २०२५ कन्जर्भेसन अवार्ड समेत प्रदान गरिएको थियो।

पुरस्कारप्रति प्रतिक्रिया दिँदै डोमा पौडेलले यो सम्मान व्यक्तिगत नभई सामूहिक भएको बताइन् । स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय साझेदारसम्म सबैको सहयोगले आफूलाई अझ दिगो, वातावरणमैत्री र मानिस तथा वन्यजन्तुप्रति जिम्मेवार ढङ्गले काम गर्न प्रेरणा मिलेको उनको भनाइ छ।

डोमा पौडेलको नेतृत्वमा एनडीईटीले चितवनमा पशुमैत्री र दिगो पर्यटनको अभ्यासलाई संस्थागत गरेको छ। कम्पनीले वर्षौँदेखि हात्ती सवारीलगायत हानिकारक वन्यजन्तु गतिविधि पूर्ण रूपमा बन्द गर्दै नैतिक पर्यटनलाई प्राथमिकता दिँदै आएको छ । दिगोपनलाई व्यवहारमै उतारेको एनडीईटीले अन्तर्राष्ट्रिय पर्यटक समीक्षामञ्चहरूमा निरन्तर उच्च मूल्याङ्कन पाउँदै आएको छ।

यस सम्मानले नेपालको पर्यटन क्षेत्रमा सक्रिय साना तर जिम्मेवार स्थानीय व्यवसायहरूको योगदानलाई समेत उजागर गरेको छ। यस्ता व्यवसायले दैनिक रूपमा संरक्षण र समुदाय विकासमा योगदान पुर्‍याइरहे पनि पर्याप्त पहिचान नपाएको सन्दर्भमा यो उपलब्धिलाई आशा र प्रेरणाको संकेतका रूपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय अवार्डसँगै नेपालले पुनः विश्वमञ्चमा सकारात्मक ध्यान आकर्षित गरेको छ। चितवन राष्ट्रिय निकुञ्जले ७ सय ५० दिनभन्दा बढी समयसम्म एक सिकार पनि नघटेको उपलब्धि हासिल गरिरहेको अवस्थामा डोमा पौडेलको सम्मानलाई नेपालको दीर्घकालीन संरक्षण दृष्टिकोण र नेतृत्व क्षमताको प्रतीकका रूपमा लिइएको छ।

अन्तिम अध्यावधिक: December 13, 2025
English

ताजा अपडेट

खोजी गर्नुहोस