जलवायु परिवर्तनले मुगुमा पाइने बहुमूल्य जडीबुटी पछिल्लो समय घट्दो

जलवायु परिवर्तनले मुगुमा पाइने बहुमूल्य जडीबुटी पछिल्लो समय घट्दो
२०८१ फागुन २८, बुधबार (८ महिना अघि)

मुगु । जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाईने  बहुमूल्य जडीबुटी पछिल्ला वर्षहरुमा घट्दै गएको छ ।

कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने भण्डार प्रदेश भए पनि मुगु लगायत हुम्ला, कालीकोट, जुम्ला, डोल्पा, जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा अहिले पाइने जडीबुटीको संख्या घट्दै गएको हो ।

वनपाखामा पाईने बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो, घुच्चीच्याउ, सुगन्धवाल, सेतकचीनी धुपी, वन लसुन, राताच्याउ, कालादान, जिम्बु , अतिस, जटामसी, विषजरा, लगायतका जडीबुटीहरु जलवायु परिवर्तन, आगलागी, प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासी, अवैधरुपमा विकास निमार्णका संरचना निमार्ण गर्नु, फल नपाक्दै जडीबुटी टीप्नु, खुल्ला पशु वस्तु चरीचराउका कारण बहुमुल्य जडीबुटी दिन प्रतिदिन लोप हुँदै गएको हो ।

जडीबुटीहरुको संरक्षणको लागि स्थानीय सरकार र डिभिजन वन कार्यालयले जडीबुटीको संरक्षणमा कुनै पनि पहल गरेको छैन । डिभिजन वन कार्यालय मुगुले वन पाखाहरुमा जडीबुटीको पछिल्लो उत्पादनको  अवस्था कस्तो छ भन्ने नबुझेर जडिबुटी संकलनको लागि अनुमति मात्र दिने गरेको छ ।

परापूर्वकालदेखि वन क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेको छ  ।

विगतका वर्षहरुमा घर छेउचाउमा विभिन्न प्रकारका जडिबुटी पाईने गरेका थिए अहिले घर देखी १ दिन हिडेर गए पछि मात्र जडिबुटी पाईने छाँयानाथ रारा नगरपालिका १४ बामका रत्न बढुवालले बताए ।

नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका जडीबुटी पाइन्छन् भने मुगुबाट मात्र प्रत्येक  बर्ष २४ देखि ३० प्रकारका जडीबुटीहरुको कारोवार हुने गरेको देखिन्छ ।

कार्यालयको ५ वर्षिय योजना अनुसार कुन जडीबुटी कति निकासा दिने भन्ने योजना अनुसार जडीबुटी संकलनको लागि अनुमति दिने गरेको र जडीबुटी वनजङ्गल,वन्यजन्तु संरक्षण गर्नको लागि जिल्लामा रहेका सरोकारवालाहरुसंग सहकार्य भई नियमित काम भईरहेको डिभिजन वन कार्यालय मुगुका जीतेन्द्र महतले बताए  ।

अन्तिम अध्यावधिक: November 21, 2025
English

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस